काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म जान्छ हेर्नका लागि समेत नढलोस् भन्ने चाहना रहेको बताएका हुन् ।
सांसद झाले भने, ‘तर, सत्ता गठबन्धन ढल्न हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्दछ भन्ने हाम्रो कामना छ । किनभने, अझै धेरै हामीले देख्न बाँकी छ । हामी देख्न चाहन्छौं, कि कतिसम्म गिर्दो रहेछ । गिर्ने स्थान कति बाँकी रहेछ । त्यो देख्न चाहन्छौं । त्यसैले गर्दा पनि यो गठबन्धन नढलोस्, टिकिरहोस् भन्ने हाम्रो कामना छ, ।’ वर्तमान सरकार बनाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेबीच गत १७ असारमा ७ बुँदे सहमति भएको थियो । उक्त सहमतिको आधारमा तत्कालीन सत्ता गठबन्धन बदलिएपछि ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
सांसद झाले वर्तमान सरकार बन्दा दुई ठूला दल बीच भएको ७ बुँदे सहमतिको कार्यान्वयनको विषय पनि उठाएका छन् । उक्त सहमति सत्तारुढ दलले नै बिर्सिएको उनले आरोप लगाएका छन् । उनले सरकारले आफ्नो आयुको भन्दा उपलब्धिको चर्चा गरे हुन्थ्यो भन्ने चाहना समेत आफूहरूको रहेको बताएका छन् । विश्व अर्थतन्त्र, चीन र अमेरिकाबीच अर्थतन्त्रलाई लिएर चलिरहेको रस्साकस्सी, पाकिस्तान र भारतबीच रहेको सम्भावित युद्धलाई ख्याल गरेर नेपालले आफ्नो अर्थ नीति ख्याल गर्नुपर्ने उनको आग्रह छ । तर, सरकार चुरोट र रक्सीको लाइसेन्स कतिमा बेच्ने भनेर लागिरहेको सांसद झाले आरोप लगाएका छन् ।
उनले कांग्रेस र एमालेका बीचमा भएको ७ बुँदे सहमतिमा जे जस्ता विषय लेखेता पनि खास चाहना के थियो भन्ने जनताले थाहा पाउँदै गएको बताएका छन् । सहकारीको समस्या समाधान गर्ने नाममा नयाँ आएको दलको नेतालाई थुन्ने, स्थानीय तहलाई सहजीकरणको नाममा काठमाडौं महानगरका मेयर बालेन शाह लगायताई अवरोध गर्ने सहमति कांग्रेस र एमालेका बीचमा भएको बताएका छन् ।
आफ्नो मान्छे नियुक्त गर्न काम गरिरहेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सत्ता गठबन्धनको सहमति पनि कार्यान्वयनमा गएको भनेर कटाक्ष गरेका छन् । सांसद झाले गभर्नर नियुक्त गर्दा दक्षता, क्षमताको आधारमा नभएर कुन कोटामा कुन बिचौलियाको सिफारिसका आधारमा गर्ने, सदनलाई प्रभावकारी नबनाउने लगायत रहेको नियत सत्ता गठबन्धनको रहेको र यसअनुसार काम गरिरहेको बताएका छन् ।
कांग्रेस र एमालेले वर्तमान व्यवस्था विरोधीलाई सत्तामा आउने वातावरण बनाउने र अस्थिरता निम्त्याउन चाहेको र यसमा सरकार सफल भएको भन्दै कटाक्ष गरेका छन् । हरेक नियुक्तिमा सत्ता गठबन्धनको दरिद्रता देखिँदै आएको उनको भनाई रहेको छ ।