काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन् ।
उनले राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताएका छन् । असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनु उनको भनाइ रहेको छ ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीले के कुरालाई महसुस गरेको छ भने राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आमनागरिकमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी, असन्तोष देखिन्छ । त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था, पछाडि आम नागरिकहरूको अवस्थामा जुन बदलाव आउँछ भन्ने कुराको हामीले वाचा गरेका थियौँ, नागरिकले अपेक्षा गर्नुभएको थियो, तदनुरुप हुन सकिरहेको छैन । त्यसको कारणले गर्दा असन्तुष्टि छ । तर यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ । असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन । त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ ।’
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टिको सम्बोधन रहेको उनको भनाइ छ । महामन्त्री थापाले भने, ‘खास गरेर हाम्रो इकोनोमीमा देखिएका जति पनि समस्याहरू छन्, संकटहरू छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन । केही समयअघि संसदले केही कानुनहरू पारित गरेको छ । यद्यपि त्यसलाई हामीले प्रारम्भ मात्रै ठानेका छौँ । त्यो सुरुवात मात्रै हो । त्यसले पोजेटिभ भाइब्स लिएर आउँछ, त्योभन्दा बढी होइन । यो समयको हामी प्रयोग गर्न चाहन्छौँ ।’
उनले नेकपा एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारेका छन् । सरकारमा बस्नका लागि मात्रै नभएर परिणाम दिने गरी काम गर्न आवश्यक रहेको बताएका छन् ।