बुधवार, आश्विन १४ गते २०८३

पोखरा विमानस्थल अनियमितता : निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको संसदीय उपसमिति पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरेको छ ।

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद् राजेन्द्र लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले यस्तो सिफारिस सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियममता भएको भन्दै लेखा समितिमा उजुरी परेपछि समितिले उपसमित बनाएर अध्ययन गरेको थियो ।

सो अध्ययनको क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने देखिएको हो । सोमबार संयोजक लिङ्देनले मूल समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको अध्ययन प्रतिवेदनमा तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता (Implementation Agreement) गरी पटकपटक नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले Master List का आधारमा २ अर्ब २२ करोड ४० लाख आर्थिक अनियमितता गरेको देखिएको ।’

यहीँनेर तत्काल असुल उपर गर्नुपर्ने रकम उल्लेख छ । अगाडि भनिएको छ, ‘महालेखा परीक्षकको ६०औं प्रतिवेदनले समेत असुल उपर गर्नुपर्ने बेरुजुको रुपमा राखेकोले उक्त रकम २ अर्ब २२ करोड ४० लाख तत्काल असुल उपर गर्नुपर्ने ।’

कर छुट दिने सम्बन्धमा त्यसको औचित्य एवं सैद्धान्तिक आधार के कस्तो थियो भनेर समितिले पत्राचार गर्दा अर्थ मन्त्रालयले कुनै जानकारी नदिएको भनेर पनि प्रतिवेदनमा लेखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार