काठमाडौं । सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो ।
सरकारले यही वैशाख १९ गते संसद्मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल सहभागी छन् । तर आजको बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपा, सिके राउत नेतृत्वको जनमत र रन्जिता श्रेष्ठ नेतृत्वकोनागरिक उन्मुक्ति पार्टीका कुनै पनि नेता सहभागी छैनन् ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी भएका छन् ।
बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको छ । आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । मङ्गलवार पनि वार्ता भएको थियो । तर सहमति जुट्न सकेन ।