काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारका अरू देशमा सबैभन्दा ठूलो पार्टी सरकारमा र दोस्रो ठूलो पाटी प्रतिपक्षमा बस्ने गरेको तर दुवै ठूला दल सरकारमा बसेको जनाएका छन् । अध्यक्ष नेपालले भने, ‘सरकारमा गएपनि संविधान संशोधन गर्ने बेलाबखतमा चर्चा गर्ने बाहेक उनीहरूको त्यो प्राथमिकतामा पर्दैन, हुँदाहुँदा २०७७ मा संविधान संशोधन गरेर त्यसलाई पन्छ्याउने काम गरेको पाइन्छ ।’
उनले सामान्यतया हेरक १० वर्षमा संविधानको समीक्षा गर्ने अभ्यास भएको भन्दै नेपालको संविधानको पनि समीक्षा गर्ने आवश्यतामा जोड दिएका छन् । उनले भने, ‘सामान्यतया देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्यांकन गर्नुपर्ने आवश्यकता रहन्छ, समीक्षा गर्नुपर्ने आवश्यकता पर्छ । हाम्रो देशमा पनि २०७२ साल संविधान बनायौँ । त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ ।’
उनले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडि बढाउने र भएका कमी,कमजोरीहरूलाई सुधार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।