सोमवार, आश्विन १९ गते २०८३

अध्यक्ष प्रचण्डले भने : ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा रुचि छैन

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने बताउँदै उनले अहिले सरकारमा जाने कुनै रुची नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले भनेका छन्, ‘तपाईंहरू अब राम्रो तयारीमा जानुस् । छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ, हाम्रो यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं । हाम्रै वर्गसँग ठिक छौं ।’

आन्दोलनद्वारा तमाम समस्याको समाधान गर्न आफूहरू तयार अवस्थामा बस्नुपर्ने उनको भनाइ रहेको छ । उनले भने, ‘एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने, हिजोको पीएलएका सबै कमाण्डर र योद्धा साथिसँग, घाइते अपांगसँग, जेलनेल यातना भोगेकासँग, ०६४ मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि नयाँ क्रान्तिको तयारी हामीले गर्नैपर्छ, ।’ साथै, उनले सरकारमा भएकाले दमन गर्न खोजे त्यो सम्भावना नहुने बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘त्यो क्रान्ति शान्तिपूर्ण हुनेछ । यदी राज्य र सरकारमा हुनेले बल प्रयोग गरेर दमन गर्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन । नेपालमा पनि रोक्न सक्ने छैन, ।’ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार