काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा कोलकाता नाइट राइडर्सले पाँचौं जित निकालेको छ । पाँचौं जित दर्ता गर्ने क्रममा कोलकाताले आइतबार राजस्थान रोयल्सलाई एक रनले हरायो ।
राजस्थानले भने नवौँ हार बेहोर्यो । कोलकाताले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान रियान परागले विस्फोटक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ४५ बलमा आठ छक्का र ६ चौकासहित ९५ रनको पारी खेलेका हुन् । यस्तै, यशस्वी जैसवालले ३४, शिमरोन हेटमायरले २९, शिवम दुबेले अविजित २५ र जोफ्रा आर्चरले १२ रन जोडे ।
कोलकाताका लागि वरुण चक्रवर्ती, हर्षित राना र मोइन अलीले दुई/दुई विकेट लिए । वैभव अरोराको नाममा एक विकेट रह्यो ।त्यसअघि इडेन गार्डेन्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनायो । सुरुआती ओपनर सुनिल नराइन ११ रनमा आउट भए भने अर्का ओपनर रहमानुल्लाह गुर्बाजले ३५ रनको योगदान दिए ।
६९ रनको अवस्थामा कोलकाताले दुई विकेट गुमाइसकेको थियो । त्यसपछि कप्तान अजिंक्य रहणे र अंगकृश रघुवंशीबीच तेस्रो विकेटका लागि ४२ रनको साझेदारी भयो । रहाणे ३० रनमा पेभेलियन फर्किए ।
अंगकृश र आन्द्रे रसेलले चौथो विकेटका लागि आक्रामक ६१ रनको साझेदारी गरे । अंगकृशले ३१ बलमा ४ चौका र १ छक्कासहित ४४ रन बनाए । रसेलले २५ बलमा ४ चौका र ६ छक्कासहित अविजित ५७ रनको आक्रामक पारी खेले ।
राजस्थानका लागि जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले एक/एक विकेट लिए । यो जितपछि कोलकाता अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । उसले ११ खेलमा पाँचमा जित र पाँच खेलमा हार बेहोरेको छ ।
कोलकाताले वर्षाका कारण एक खेलमा अंक बाँडेको छ । आठौँ स्थानमा रहेको राजस्थानले १२ म्याच खेल्दा ९ मा हार तथा तीन खेलमा मात्र जित निकालेको छ । ऊ प्लेअफ दौडबाट बाहिरिसकेको छ ।