काठमाडौँ । पानी पार्ने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेकाले अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँहरुमा तथा पहाडी भेगका थोरै ठाउँहरुमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
अहिले कैलाली, बाँके, बर्दियालगायतका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अरु ठाउँमा पनि पानी पर्नेछ ।
हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।