सोमवार, आश्विन १९ गते २०८३

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ? सांसद अमरेशकुमार सिंहको प्रश्न

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै स्वतन्त्र सांसद सिंहले सुशासनको कुरा कागजमा नभई व्यवहारमा देखिनु पर्ने बताएका छन् । सांसद सिंहले भने, ‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ ।’ सांसद सिंहले प्रश्न गरे, ‘अहिले त्यो अनुसन्धान कहाँ पुग्यो ? वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’

वर्तमान सरकारले विदेशीसँग ऋण लिएर भ्रष्टाचार गरिरहेको बताएका उनले सरकारमा बस्नेहरूमा सत्ताउन्माद बढेको चर्चा गरेका छन् । उनले वर्तमान सरकार गठन भएदेखि नै साना दल, जनजाति, दलित, महिला, मधेशीमाथि चुनौती बढेको जनाएका छन् । सिंहले भने, ‘दुईतिहाइको सरकार नांगो हिँडिरहेको छ । यो सरकार बनेदेखि नै साना दलमाथि चुनौती बनेको छ । जनजाति, दलित, महिला, मधेशीलाई समाप्त गर्न सरकार लागि परेको छ ।’

उनले शिक्षा, स्वास्थ्य र सडक ध्वस्त हुँदा पनि सरकारको प्राथमिकता पानीजहाज र रेलमा परेको भन्दै गुनासो गरेका छन् । उनले भने, ‘अहिले पानीजहाज आवश्यक छैन । रेलको आवश्यकता छैन । आवश्यक परेको सडक हो । तर, सडक बनाउनेतिर सरकारको ध्यान छैन, सरकारले बिचौलिया प्रैदा गरेको छ । कामकारबाहीमा दलालतन्त्र प्रैदा गरेको छ ।’

स्वदेशमा विद्यार्थी रोक्न नसक्ने सरकार नयाँ-नयाँ विश्वविद्यालय खोल्न र आफ्ना मान्छेलाई भीसी, रेक्टर बनाउन तल्लिन रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार