काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच आज बिहान भेटवार्ता भएको छ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ। पछिल्लो समय राष्ट्र बैंकको नयां गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता दल कांग्रेस र एमालेबीच खटपट भएको छ । दुई महिनासम्म पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्त गर्न सकेका छैनन् ।
शनिबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीसँग गभर्नर किन नियुक्त नगरेको ? भन्दै असन्तुष्टि पोखेका थिए । कांग्रेसका नेताहरुले ओलीको आलोचना गरिरहेका छन् । पछिल्लो समय एमाले र माओवादी नेताको भेटवार्ता बाक्लिएको छ । यसैबीच अर्थमन्त्री पौडेल र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।