काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय संसद्मा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले यो कतै राजनीतिक प्रतिशोधका आधारमा भइरहेको त छैन भनेर प्रश्न गरेका हुन् ।
सांसद झाले आज प्रतिनिधि सभामा आकस्मिक समय लिएर भनेका छन्, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं, ।’
उनले भने, ‘हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिंदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?’ । यी सबै विषयलाई आफ्नो पार्टीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेको रास्वपा सांसद झा ले बताएका छन् ।
राजनीतिक प्रतिसोधप्रति सँधै चुप लाग्न सकिने अवस्था नरहन सक्ने उनको चेतावनी छ । सांसद झाले भने, ‘यो सबै कुरालाई हामीले एउटा राजनीतिक प्रतिसोधको क्रमका रुपमा हेरिराखेका छौं र गम्भीरता पूर्वक लिइराखेका छौं र सँधै चुप लाग्न सकिने अवस्था नरहन पनि सक्छ भन्ने जानकारी गराउन चाहन्छौं, ।’