काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ सङ्कल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भए पनि त्यस्तो आउन नसकेको बताएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै पौडेलले केही कार्यक्रमका लागि भने धन्यवाद दिएका छन् । सार्वजनिक सेवा प्रवाह, आर्थिक गतिशीलता, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, विद्यार्थीका लागि पढ्दै कमाउँदै, नागरिक एप्स, इ गभर्मेण्ट बोर्ड, अनलाइन कर प्रणाली, युवा केन्द्रित स्टार्टअप, साइबर सुरक्षा, डिजिटल नेपाल फ्रेमवर्क, तीन तहको सरकारको एकीकृत परियोजना बैङ्किङ प्रणाली जस्ता विषयहरू राखेकोमा धन्यवाद दिएका छन् ।
उनले यसअघिको नीति तथा कार्यक्रमका कारण ६ सय ६१ स्टार्टअपले लोन पाएको बताएका छन् । सांसद पौडेलले भने, ‘आज नीति तथा कार्यक्रम छलफल हुँदैछ, पास कहिले हुने हो । पहिलाका केही कार्यक्रमहरूमा रि-प्याकेजिङ गरेर ०८२/०८३ को नीति तथा कार्यक्रममा स्टिकर टाँसिएको छ। सबै कुरा पहिलाको कार्यक्रममा छ । राष्ट्र निर्माणको लागि दृढ सङ्कल्प आउनुपर्दथ्यो, नीति तथा कार्यक्रममा ।’
सांसद पौडेलले सिक्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन नसकेको बताएका छन् ।