काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसन देशको साझा समस्या बन्न पुगेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद गैरेले भ्रष्टाचार र कमिसन कुनै एक दलको मात्र नभई सिंगो राष्ट्रकै समस्या बन्न पुगेको बताएका हुन् । यो समस्या समाधान गर्न सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ । उनले सत्ता र प्रतिपक्षी दलले एकअर्कालाई आरोप लगाएर मात्र यो समस्या परास्त गर्न नसकिने भन्दै सबैले आत्मसाथ गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
उनले भने, ‘एकले अर्कालाई आरोप-प्रत्यारोप गरेर खुसी व्यक्त गर्ने प्रवृत्ति देखापर्यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबैको साझा रोग हो, । एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौं, ।’
उनले प्रश्न गरे, ‘विपक्षी दलका नेताहरूले सरकारले गरेको राम्रो कामलाई पनि राम्रो भन्न नसक्ने, अघिल्लो सरकारले गरेको राम्रो कामलाई पनि त्यसपछिको सरकारले पन्छाउँदै जाँदा हामी कहाँ पुगौंला ?’
सांसद गैरेले भने, ‘विपक्षी दलका नेताहरूमा उडायो सबै सपना हुरीले भन्ने प्रवृत्तिबाट प्रभावित भएको पाएँ, कि कुनै सम्भावना छैन, सबै अँध्यारो मात्रै भयो । कतै काम लाग्ने, आशा गर्ने ठाउँ छैन, म सरकारमा नभएपछि, म नेतृत्वमा नभएपछि यो सबै कुरा के आवश्यक छ भन्ने ढङ्गले ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ भन्ने गीतबाट प्रभावित भएर त्यसअनुसारको प्रवृत्ति देखेका छौं । कहीँ पनि निर्माणको कुरा नगर्ने भत्काउने मात्रै । यसले समाधान दिँदैन ।’