काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले नेताहरू मोटाउँदा मुलुक दुब्लाउँदै गएको टिप्पणी गरेका छन् । गौतमले सरकारका नीति तथा कार्यक्रमअन्तर्गत बिहीबारको संसद् बैठकमा भाग लिँदै यस्तो बताएका हुन् ।
सांसद गौतमले भने, ‘मुलुकलाई आज एउटा बाटो, एउटा विकास दिने बेलामा म यो संसद्मा के देखिरहेको छु भने ११ वर्षको मेरो अनुभवले, एक खालको भाइब्रेसन हुनुपर्ने हो, त्यो छैन । जुन किसिमले यो मुलुकलाई लैजान खोज्नुपर्ने हो, लैजान सकिरहेका छैनौँ । हामी मोटाउँदै गएका छौँ, मुलुक दुब्लाउँदै गएको छ, ।’
उनले शीर्षस्थ नेताहरूलाई १५ वर्ष अघिको आफ्नो फोटो र अहिलेको तुलना गरेर हेर्न आग्रह गरेका छन् । ‘म सबै दलका शीर्षस्थ नेताहरूलाई आग्रह गर्न चाहन्छु- हामीले आफ्नो १५ वर्ष पहिले र अहिलेको फोटोलाई तुलना गरेर हेरौँ । उनले प्रश्न गरे, मुलुक किन अप्ठ्यारोमा परेको छ ? कसैलाई दोष दिनुपर्ने छैन । यो कसले सुधार्छ त ? हामी सबैले गर्ने हो । संविधान संशोधनहरूका कुरा छन् । नौ महिना भयो सँगै बसेको । कहाँ पुग्यौँ हामी ? संविधान संशोधन नगरी हामी यहाँबाट निस्कन सक्छौँ ?, ।’
सांसद गौतमले ०१५, ०७५ र अहिले गरी तीनपटक मुलुकलाई ‘डिपार्चर’ गर्न सकिने मौका आएको तर, अहिले पनि पार नलाग्ने सम्भावना बढेको बताएका छन् ।
उनले भने, ‘नौ महिनादेखि कांग्रेस र एमाले गठबन्धनको सरकार छ, दुईतिहाइको नजिक छ । यो पनि एउटा ऐतिहासिक अवसर हो । यस्तो बेला पनि गुम्छ कि भन्ने डर मलाई लागेको छ । यो बेला मुलुकका ठूला दुईवटा डेमोक्रेटिक पार्टीहरू फर्स्ट लार्जेस्ट र सेकेन्ड लार्जेस्ट पार्टी एक ठाउँमा उभिने, यो नेचुरल प्रोसेस र नेचुरल प्याटर्न थिएन ।’
सांसद गौतमले थपे, ‘तर, मुलुकको विशिष्ट परिस्थितिले एक ठाउँमा ल्यायो । यिनले हरेक पटक क्रान्तिको नेतृत्व गरे, हरेक परिवर्तनको नेतृत्व गरे, हरेक ठाउँमा उभिए । कहिले झगडा गरे, कहिले मिले । प्रतिपक्षमा संयोगले नेकपा माओवादी जस्तो पार्टी आज छन्, ।’