आइतवार, आश्विन १८ गते २०८३

गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् : अध्यक्ष राजेन्द्र लिङ्देन

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसवर्षको भन्दा गत वर्षको नीति-कार्यक्रम केही सकारात्मक रहेको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा अघिल्लो चोटीको नीति तथा कार्यक्रममा केही प्रयास गरेको हो कि, केही कोसिस गरेको हो कि फरक देखाउन भन्ने जस्तो देखिन्छ, ।’ तर, यसवर्षको गत वर्षको जस्तो प्रयास गरेको नीति तथा कार्यक्रम आउन नसकेको उनको भनाइ रहेको छ ।

आफूले टिपेर ल्याएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भने, ‘गत वर्ष नेपाली जनताको सुःख र समृद्धिकालागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा आशा र भरोसा जगाउनेगरी सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार गरेको लेखिएको थियो ।’ उनले यस वर्षको नीति तथा कार्यक्रममा यस्तो नभनिएको बताएका छन् ।  अगाडि थपे, ‘गत वर्ष यो व्यवस्थाप्रति आशा जगाउन प्रयत्न गर्ने भन्ने थियो ।’ यसवर्ष फरक भाषा प्रयोग भएको र व्यवस्थाको रक्षार्थ लड्ने भनेर ल्याइएको उल्लखे गर्दै उनले यस्तो भाषाले सरकार कमजोर मनस्थितिमा रहेको देखाएको बताएका छन् ।

संविधानमा व्यवस्थाको सम्बन्धमा समेत प्रश्न उठाउन सकिने व्यवस्था रहेको उनको भनाइ थियो । यसकारण आफूहरूले उठाउँदै आएको एजेण्डा उठाउन संविधानले नरोक्ने उनको भनाइ छ । यसलाई बन्देज लगाउन नमिल्ने उनले आग्रह गरेका छन् । कतिपयले संविधानले पूर्ण खारेजीको माग गरिरहँदा आफूहरूले संविधान खारेजी नभएर संविधानभित्रै रहेर आफ्ना एजेण्डा अगाडि बढाउने प्रतिवद्धता जनाउँदै आएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले भने, ‘तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न अघिल्लो सरकारले भने जस्तै, अघिल्लो सरकारले आशा जगाउने काम गर्‍यो कि गरेन, तर प्रयत्न गर्छु भनेको थियो । अब पनि आशा जगाउने काम गर्नुस् ।’ आशा जगाउन जनतामा रहेको निराशा सरकारले चिर्न सक्ने उनको सुझाव रहेको छ ।

जनतामा आशा जगाउन फजुल खर्च कम गर्ने लगायतका उपाय हुन सक्ने उनको राय छ । फजुल खर्च गर्ने संरचनाहरू रहेको उल्लेख गर्दै उनले तिनलाई खारेज गरेर सरकार अगाडि जान सक्नुपर्ने बताएका छन् ।

उनले फजुल खर्च हुने संरचना खारेज गर्दा आफूहरूको समर्थन रहने बताएका छन् । प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन सक्ने नीति अवलम्बन गर्न नसकेको उनको टिप्पणी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार