काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक परेको खण्डमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्तिमा हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।
यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सबै विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ ।