आइतवार, आश्विन १८ गते २०८३

राजावादीलाई जेठ १५ मा आन्दोलनको दुस्साहस नगर्न प्रचण्डको चेतावनी

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसकेको भन्दै जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।

किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिएका हुन् । राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यसहितका माग राख्दै संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ । आजै मात्रै समितिले बैठक बसेर आन्दोलनका कार्यक्रमहरू तय गरेको छ ।

प्रचण्डले चेतावनी दिँदै भनेका छन्, ‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ, अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि । खबरदार, त्यो हुनेवाला छैन ।’ उनले नेपालका उत्पीडित, वर्ग, जाती, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेको र कसैले पनि जागेको शक्तिलाई रोक्न नसक्ने भनाइ राखेका छन् ।

उनले भने, ‘नेपालका उत्पीडित, वर्ग, जाती, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेका छन्, जागेका जनतालाई कुनै शक्तिले पनि रोक्न सक्ने छैन । नेपाली जनता विजयी हुनेछन् । त्यो दुस्साहस नगर्न चेतावनी दिन चाहन्छु, कथित राजावादीहरूलाई, ।’ गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनले राजावादीहरू अझै उस्तै हत्यातर्फ नै उद्धत देखिएको प्रचण्डको आरोप थियो ।

प्रचण्डले भनेका छन्, ‘तीनकुनेमा एउटा वितण्डा देखियो राजावादीहरूको । मैले त त्यतिबेलै भने १२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखेपनि बांगाको बांगै भनेको जस्तो । ती हत्यारा, मण्डले गुण्डाहरू अहिले पनि उही मण्डले गुण्डागर्दी हत्या, आतंकमा नै गए । त्यसकारण जनतालाई छर्लंग भयो, ।’

उनले प्रश्न गरे, ‘देशभरी राजावादीको कथित आन्दोलन भनेको के हो ? माओवादी लगायत समाजवादीहरूले गणतन्त्र र समाजवादको पक्षमा जाने भएको के हो ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार