काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था माग गरिरहेका राजावादी दलहरूलाई जवाफ दिँदै ‘नेपाली जनता अहिलेको व्यवस्थाबाट नभाग्ने’ दाबी गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत २८ गते काठमाडौंमा आयोजित एक प्रदर्शनका क्रममा ‘सम्झौता नगर्ने भए भाग्न तयार हुनू’ भन्दै चेतावनी दिएका थिए । उक्त विषय स्मरण गर्दै आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राजसंस्थालाई ‘मक्काएको, खिएको र सडेको’ संस्थाको रुपमा अर्थ लगाएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘एकजना माननीयज्यूले बोल्नुभएको मैले सुनेँ, त्यो पनि एउटा पार्टीको अध्यक्षले नै । कि राजा ल्याउने सम्झौता गर, हैन भने भाग्न तयार होऔ, कहाँ भाग्ने ? कहाँ ? एउटा थोत्रो संस्थाको तर्फबाट मक्काएको, खिएको, सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लल्कार्ने ? नेपाली जनता भाग्दैन ।’
देशको सबैभन्दा बढी हकदार नेपाली जनता भएको उल्लेख गर्दै उनले यहीँ हक कायम गरेर बस्ने बताएका छन् । उनले भने, ‘नेपाली जनतालाई भाग्ने ठाउँ पनि छैन । नेपाली जनता यस देशका सबैभन्दा बढी हकदार हुन् । त्यो हक कायम गरेर नेपाली जनता बस्छ । नेपाली जनता भाग्ने होइन, ।’ उनले आफूहरूलाई भाग्न भनेको हो कि भन्दै बुढो भइसकेकाले भाग्न नसक्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई भनेको होला भाग्ने भनेर, हामीजस्तो बुढा त भाग्न पनि मिल्दैन, तपाईंहरूजस्तो जवानलाई मिल्छ । जवान जवानलाई मिल्छ, भन्ने वक्तालाई मिल्छ ।’
उनले प्रश्न गरे, ‘अब हामी पाका मान्छे कहाँ भाग्ने हौ ?, २७० ले यस्तो भन्दैन क्या । संविधानको उल्लेख गर्ने अनि संविधान नमान्ने । संविधान फाल्छु, यो संविधान मान्दिन भन्ने ? त्यही संविधानको धारा चाहिने रहेछ त ?’