सोमवार, श्रावण २५ गते २०८३

विश्वकप एसिया छनोट : हङकङसँग नेपाल ७ विकेटले पराजित

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ३० रनको लक्ष्य हङकङले निर्धारित ४.३ ओभरमा ३ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।  गएरातिको वर्षाका कारण मैदान भिजेपछि ढिला सुरु भएको खेल ५ ओभरमा छोट्याएर खेलाइएको थियो ।

हङकङका लागि ओपनर सन्जिन सहजाद १५ र यास्मिन डास्वानी ३ रनमा अविजित रहेका थिए। क्यारी चान र कप्तान नतासा माइल्स शून्य रनमा नै आउट भएका हुन् । हङकङलाई अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा कविता कुवँरले पहिलो बलमा मारिको हिललाई बोल्ड आउट गराइन् । तर दोस्रो बलमा दुई रन दिँदा तेस्रो बलमा १ रन दिएपछि नेपालले हार भोगेको हो ।

त्यसअघि थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा २९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सम्झाना खड्का १० रन बनाउँदै क्याच आउट भइन् । कप्तान इन्दु बर्मा ९ र रुविना क्षेत्री ४ रनमा नटआउट रहेका थिए । पूजा महतो ३ रन र कविता कुवँर २ रन बनाएर आउट भए ।

पहिलो खेलमा हङकङसँग अंक बाँडेको नेपालले दोस्रो खेलमा हार भोग्दा सुपर ३ मा पुग्ने यात्रा केही कठिन बनेको छ । दोस्रो खेलमा भने नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । हङकङ र बहराइनबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । समुह चरणको अन्तिम खेलमा नेपालले बिहीबार बहराइनसँग खेल्नेछ । हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।

नेपालले अब सुपर थ्री मा स्थान बनाउन बहराइनविरुद्ध जित निकाल्नुपर्नेछ भने अर्को खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ । छनोटमा नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ रहेका छन् । समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत रहेका छन् । समूह ‘बी’ मा युएई, कतार र मलेसिया रहेका छन् ।

डबल राउण्ड रोविनमा समूह चरणका खेल हुनेछ । समूहका शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछन् । सुपर थ्री को शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार