काठमाडौँ । यस वर्ष चाँडो मनसुन भित्रने संकेत देखाएको छ। भारतको अन्डमान तथा निकोबार टापुमा सरदरभन्दा ९ दिनअगावै मनसुन भित्रिएको छ । त्यसैले नेपालमा पनि यस वर्ष चाँडो मनसुन भित्रने संकेत देखिएको हो ।
नेपालमा सरदर जुन १० (जेठ २७) मा मनसुन भित्रने गर्छ। तर, विगतका केही वर्ष यो समयको ढिलो चाँडो पनि मनसुन भित्रिएको थियो । गत वर्ष जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो। देशभर फैलन १५ दिनभन्दा बढी लागेको थियो । असोज २६ गते नेपालबाट मनसुन बाहिरिएको थियो।
नेपालमा मनसुनको अभिलेख राख्न थालिएयता (सन् १९६८) यता २०५३ सालमा मनसुन चाँडो आगमन भएको थियो। त्यसवर्ष जेठ १८ गते नै मनसुन भित्रिएको थियो। सबैभन्दा ढिलो आगमन भएको २०३६ सालमा हो।
त्यतिबेला असार १० गते मात्र मनसुन नेपाल प्रवेश गरेको थियो। ढिला बहिगर्मन भएको २०७० सालमा हो। त्यतिबेला कात्तिक २ गते मनसुन बहिर्गमित भएको थियो। २०६५ सालमा लामो अवधि मनसुन रहेको थियो।
पछिल्लो समय दिनहुँ पानी परिरहेको छ। वैशाख मसान्तसम्म आइपुग्दा प्रि-मनसुन याममा सरदर वर्षा नै भइरहेको हो । अहिलेसम्म १४५.५० मिलिमिटर पानी परेको छ। यो भनेको सरदर वर्षाको तुलनामा ६३.६ प्रतिशत हो। प्रि-मनसुन सकिन अझै १७ दिन बाँकी छ। यो अवधिमा नेपालमा २२६.३ मिलिमिटर सरदर वर्षा हुने मौसम विभागले बताएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार आगामी शनिबारदेखि दिनहुँ वर्षाको सम्भावना देखिएको छ। तसर्थ हिउँद याम सुख्खा भए पनि प्रि-मनसुन सिजन रसिलो नै हुने देखिएको छ।
बंगालको खाडी क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा रहेको अन्डमान तथा निकोबार टापुमा सरदर २२ मेमा भित्रने मनसुन ९ दिनअगावै १३ मे (मंगलबार) नै भित्रिएको भारतको मौसम विज्ञान विभागले पुष्टि गरेकाले नेपालमा पनि त्यसको प्रभाव पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताइन्।
तर भारतमा छिटो भित्रँदैमा नेपालमा पनि वर्षा सुरू भइहाल्छ भनेर निष्कर्ष निकाल्न नहुने उनले बताइन्। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन यामको सिजनल आउटलुक निकाल्ने तयारी गरेको छ। विभागकाअनुसार आगामी जेठ ७ गते मौसम विभागले यस वर्षको मनसुन यामको वर्षा अनुमानित गर्नेछ।
अहिलेसम्मको प्रक्षेपणअनुसार यस वर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने देखिएको छ। गत वर्ष पनि सरदरभन्दा १५.३ प्रतिशत बढी पानी परेको थियो।