आइतवार, आश्विन १८ गते २०८३

गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान भएको इतिहास लेखियो : रास्वपा सांसद गौतम

बिहिवार , जेठ २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ता र शक्ति राजनीतिक प्रतिशोधनको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रुप रहेको बताएकी छिन् ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको दोहोर्‍याउँदै उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा यस्तो बताएकी हुन् । उनले यस्तो प्रवृत्तिलाई इतिहासले धिक्कार गर्ने बताएकी छिन् । सांसद गौतमले भनिन्, ‘सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ, त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो, इतिहासले यो स्वेच्छाचारी प्रवृत्तिलाई धिक्कार्ने छ । गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान भएको एउटा इतिहास लेखिएको छ ।’

उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको आफ्नो कदम सच्याउन पनि आग्रह गरेकी छिन् । उनले भनिन्, ‘सर्वपक्षीय आलोचना भए तापनि सरकार गाडी नम्बर ४२० आफ्नै रफ्तारमा चलिरहन्छ भनेझैँ बेप्रवाह दौडिरहेको छ, अलिकति रचनात्मक आलोचना सुन्ने धैर्यता कहिँ बाकीं छ भने आफ्नो कदमलाई सरकारले सच्याओस् ।’

सांसद गौतमले पछिल्लो समय दैनिकजसो सहकारी प्रकरणका जाहेरीकर्ताहरूले सार्वजनिक रुपमा नै आफूले जाहेरी नदिएको, थाहै नदिइ अभियोगपत्रमा नाम लेखिएको, किटानी उजुरी नै नहालेको मान्छेलाई उजुरीकर्ता बनाइयो भन्दै प्रश्न उठेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले शक्तिको दुरुपयोग आफैंमा संविधानविपरीतको कार्य भएको बताउँदै सत्ता र शक्तिलाई राजनीतिक प्रतिशोधको साधन नबनाउन आग्रह गरेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार