आइतवार, आश्विन १८ गते २०८३

सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ काठमाडौँमा सुरु

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ काठमाडौँमा सुरु भएको छ। 

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ आयोजित ‘सगरमाथा संवाद’मा १२ देशका उच्च तहको प्रतिनिधिमण्डल सहभागी छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा.आरजु राणा देउवाले स्वागत मन्तव्य दिएकी छन्। 

कार्यक्रममा चीन, भारतलगायत १ सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन्। संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ राखिएको छ। कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुने छ।

अहिले उद्घाटन समारोहमा जारी छ। भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्बोधन गर्ने क्रम जारी छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ।

उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ। यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय संगठनबाट प्रस्तुति हुनेछ।

आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ। सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न गर्ने कार्यसूची छ। राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढंगको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार