काठमाडौं । दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो ।
यससँगै यो मुद्दा सुरु भएको ५६ दिन पुग्छ । यो म्यादभित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारीमा रहेको छ । केही दिनमा सरकारी वकिलको कार्यालयले त्यसपछि बढीमा चार दिनमा तीनकुने घटनामा संलग्न रहेको आरोपमा १०० बढीलाई प्रतिवादी बनाउँदै अभियोग पत्र दायर गर्दैछ ।
उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रसाईं चैत १५ गते काठमाडौंको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए ।
त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजेका थिए । त्यसपछि उनी फरार थिए । भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको हो ।