आइतवार, आश्विन १८ गते २०८३

दैलेखमा प्रचण्डलाई ‘गाउँले एफएम दाइ’ ले दिए काँक्रो उपहार

आइतवार , जेठ ५, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली दैलेख पुगेको छ । 

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत दैलेख सदरमुकाम नारायण नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले आफू पनि दैलेखी भएको बताए छन् । 

आइतबार प्रचण्ड दैलेख पुग्दा काँक्रो उपहार पाए । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जम्बुकाँध पुग्दा डौँसुर गाउँका स्थानीय नगेन्द्र खड्काले काँक्रो उपहार दिएका हुन् । खड्का त्यहाँका अगुवा किसान हुन् । उनी ‘गाउँले एफएम दाइ’ नामले चर्चित छन् ।

०५८ सालतिर, डौँसुरमा उनको सानो पसल थियो । पसलमा उनले रेडियो राखेका थिए । त्यतिबेला जनयुद्ध उत्कर्षमा भएकाले त्यसका समाचारप्रति स्थानीयको चासो बढी थियो ।

रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको एफएम रेडियो, नेपालगन्जको बागेश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार उनले गाउँहरूलाई चर्को आवाजमा सुनाउँथे ।

त्यहीबेला माओवादीकै एक नेताले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए । त्यसपछि गाउँमा उनी यही नामले चिनिन थालेका छन् । 

सत्ताबाट बाहिरिएसँगै प्रचण्ड जनताको मन जित्न अनेक प्रयास गरिरहेका छन् । ०८४ को आम निर्वाचनमा माओवादीले बहुमत ल्याउने प्रचण्डको घोषणा छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार