काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कुर्सीमा पुग्नका लागि मात्रै पार्टी एकताको नाटक गरेको आरोप लगाएका छन् ।
प्रचण्डले केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा यस्तो आरोप लगाएका हुन् । एमाले र माओवादीबीच भएको पार्टी एकताले नेपाली जनताको र कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशिल, देशभक्त जनसमुदायमा निकै सकारात्मक सन्देश र उर्जा प्रवाह गरेकोभउपनि पार्टीका तत्कालीन अर्का अध्यक्ष केपी शर्मा ओलीको पार्टी एकताको उद्देश्य भने आफू प्रधानमन्त्रीको कुर्सीमा पुग्ने र निरंकुश बन्ने मात्रै रहेको कुरा स्पष्ट हुँदै गएको उल्लेख गरेका छन् ।
पार्टी एकताको सैद्धान्तिक, राजनैतिक र वैधानिकताको मुल मर्ममाथि नै निरन्तर प्रहार गरेको उनको आरोप छ । पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउन, सरकारलाई आफूनिकट व्यक्ति पोस्ने, दलाल नोकरशाही पूँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपयोग गर्ने, प्राप्त राजनीतिक उपलब्धि संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गर्ने काम भएको प्रतिवेदनमा उल्लेख छ ।
ओली प्रवृत्तिविरुद्ध नेकपाको बहुमत सदस्यहरु खडा हुने स्थिती बनेपछि आत्मआलोचित हुनुको सट्टा झनै निरङ्कुश र तानाशाही बनेको आरोप प्रचण्डले लगाएका छन् । पार्टीको शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा उपस्थितसबै केन्द्रीय सदस्यलाई प्रतिवेदन वितरण गरेर समूहगत छलफलको तयारी गरिएको छ ।