काठमाडौं । सांसद विकास कोषका नाममा सांसदहरुलाई बदनाम गर्न खोजिएको भन्दै सांसद राजेन्द्रकुमार केसीले आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले संसदबाट कुनै कोषको माग नगरेको समेत उल्लेख गरेका छन् । उनले भने, ‘हामीले संसद् बिकास कोष, क्षेत्र विकास कोष वा कुनै पनि कोष हामीले यो हाउसबाट मागेका छैनौँ, यसरी सांसद विकास कोषका नाममा कुनै पनि कोषलाई बदनाम गर्नै काम आज भएको छ ।’
सांसद केसीले भने, ‘वास्तवमा सांसद विकासका प्रतिनिधि हुन् । र, त्यो विकास आआफ्नो क्षेत्रमा कमसेकम योजना छनोटमा सहभागीता होस् भन्ने हो । सोही अनुरुप गत वर्ष पनि तत्कालीन अर्थमन्त्रीले ५/५ वटा योजना तपाईंहरुले पनि छनोट गर्नुहोस् है भन्नुभयो र हामीले ५/५ वटा योजना दिइम ।’ अहिले सांसदका नाममा ३४ अर्ब छुट्याउन लागेको प्रचार भएको भन्दै त्यसले राम्रो सन्देश नजाने समेत बताएका छन् ।
उनले भने, ‘अहिले जुन ३४ अर्ब छुट्याउने भनेको छ, यसले निश्चितरुपमा सांसदहरुको गरिमा राम्रो हुने छैन, त्यसकारण कुनै पनि सांसद कोष अथवा कुनै पनि क्षेत्र विकास कोष नराखियोस् ।’
आफूहरुको चाहाना योजना छनोटमा सांसदको अलिकति भूमिका रहोस् भन्ने रहेको भन्दै उनले भने, ‘म माननीय अर्थमन्त्रीलाई निवदेन गर्न चाहान्छु कि तपाईंले दिन सक्ने दिनुहोला तर यो कोषको नाममा बदनाम नगर्नुहोला ।’