काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले जेठ १५ गतेभित्र पुल निर्माणको काम नसके ठेकेदारलाई नै खोलामा गाडिदिने धम्की दिएका छन् ।
बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीया स्थित पुलको मंगलबार निरीक्षण गर्ने क्रममा उनले पुल निर्माणको जिम्मा लिएका दुई ठेकेदारलाई यस्तो धम्की दिएका हुन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको यो पुल १३ वर्षदेखि अलपत्र रहेको छ ।
२०७९ सालको निर्वाचमा सांसद श्रेष्ठले पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार पुल निर्माणको काम सकिए पनि पुलको दुवै तर्फ एप्रोच नबनाइकन ठेकेदार कम्पनीले अलपत्र छाडिदिएको थियो । एप्रोच नबनेकै कारण पुल सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रका सर्वसाधारणहरूलाई आउजाउ गर्न समस्या भइरहेको छ ।
सांसद श्रेष्ठ सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीसहतिको टोली लिएर मंगलबार अनुगमन गर्न बारा पुगेका थिए । सो क्रममा उनले भने, ‘१५ जेठभित्र मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु । प्लिज मैले एकदम भद्र भएर बोल्या छु । आज ६ गते भयो । भोलि बिहान टिप्पर र १० एक्साभेटर ल्याउने । आज बेलुकासम्म डीजी साब, इन्जिनियर साबले यहाँ हेर्नुहुन्छ । आज बेलुकासम्म एउटा एक्साभेटर र दुइटा टिपर देख्नु पर्यो ।’
सांसद श्रेष्ठले भने, ‘बिहानदेखि काम सुरु गर्नु पर्यो । अन्तबाट केही गर्नु पर्दैन । ग्याबिन नापेर इन्जिनियर साबले भन्नुहुन्छ । ग्याबिन झार्दिने । १५ गते फिलिङ गरेर ढलान गर्ने । दुई जना ठेकेदार साब सुन्नुस् है फेरि, यहाँ डीजी साबको अगाडि बोल्या छु । इन्जिनियर साब पनि हुनुहुन्छ । १५ गते मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु ।’