काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार गरेकी छिन् ।
बुधबार बसेको समितिको बैठकमा समिति सदस्य तथा सांसद कुसारीले सभापति साहमाथि माइक प्रहार गरेकी हुन् । सभापति साहका अनुसार सांसद कुसारी ढिलोगरी बैठकमा आएकी थिइन् । ढिलो गरी बैठककक्षमा पुगेकी उनले अनुमति नपाएरै बोल्न थालेपछि सभापति साहले रोक्न खोजेका थिए । तर, सांसद कुसारी बम्किइन् र माइक प्रहार गरिन् । तर, लागेन ।
सांसद कुसारीले आफ्नो नेमप्लेटले पनि हानेकी थिइन् । तर, माइक र नेमप्लेट सभापति साहसम्म पुगेन । सभापति साहले भने, ‘उहाँले मलाई नै प्रहार गर्नुभएको हो । तर, म भएतिर आएन, सांसदहरू भएतिर गयो, ।’ आजको बैठक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको साहको भनाइ छ ।
विवादकै बीच कुसारीले सभापति साहमाथि गम्भीर आरोप लगाइन् । उनले सभापति साह सधैँ आफैँ संयोजक बनेर अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको र अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको आरोप लगाइन् ।
सांसद कुसारीले पनि आफूले माइक र नेमप्लेटले हानेको बताइन् । उनले भनिन्, ‘हानेकै हुँ तर, लागेन, ।’ उनले समितिमा अब सभापति साह र आफूमध्ये एक जना नरहने बताइन् ।
यो घटनाले संसदीय मर्यादामा आँच पुर्याएको टिप्पणी हुन थालेको छ । कतिपयले सामाजिक सञ्जालमा सांसदहरू असहिष्णु बनेको टिप्पणीहरू गरेका छन् ।