आइतवार, श्रावण २४ गते २०८३

अख्तियारको अनुसन्धान : गृह मन्त्रालय त्रासमा, थप ८ जनाको सरूवा, गृहमन्त्रीले पदबाट राजीनामा देलान् ?

शुक्रवार , जेठ १०, २०८२

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि गृह मन्त्रालयले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका थप ८ जनालाई सरूवा गरेको छ।

गृह मन्त्रालयले बिहीबार ८ जनालाई सरूवा गरेको हो। अध्यागमन विभागमा रहेका नासुहरू प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरूवा भएको हो।

नासु नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरूवा गरेको हो। त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ, कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गतमा सरूवा भएको हो। 

त्यस्तै अन्य ६ जनालाई पनि गृहले अध्‍यागमनबाट तानेको थियो। यसअघि गृहले अध्यागमन प्रमुख तीर्थराज भट्टराईको जिम्मेवारी खोसेर गृहमा तानेको थियो। योसँगै गृहले अध्यागमन कार्यालयबाट १५ जनाको सरूवा गरिसकेको छ।

उनको सरूवा गरेलगत्तै अख्तियारले अध्यागमनमा छापा मारेको थियो। अख्तियारले नियन्त्रणमा लिएर उनको मोबाइल र अन्य डिभाइस लिएको छ। अध्यागमन कार्यालयले बिचौलियाको सेटिङमा रकम असुली गरी भिजिट भिसामा पठाउन सहजीकरण गरिदिएको आरोप लागेको छ। अध्यागमनका कर्मचारीले ठूलो रकम लिएर मानिसलाई विदेश पठाउन सहजीकरण गरेको आरोप लागेको हो।

अख्तियारले यस घटनामा अनुसन्धान थालेपछि गृहले ठूलो संख्यामा कर्मचारी हेरफेर गरेको हो। अख्तियारको अनुसन्धानपछि गृहले कर्मचारीलाई सरुवा गर्न थालेपछि गृहमन्त्री रमेश लेखकमाथि नै आंशका पैदा भएको छ । बिचौलीयाको कनेक्सन गृहसम्मै भएको अख्तियारले जनाएको छ । अनुसन्धान थालेपछि गृह मन्त्रालय त्रासमा देखिन्छ । गृहमन्त्री लेखकले पदबाट तत्काल राजीनामा दिनु पर्ने भन्दै चातर्फी माग भइरहेको छ ।

यसैबीच लेखकको बर्खास्तीको मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता मधु चौलागाईले गृहमन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् ।

रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय आगामी आइतबार हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए।भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयका व्यक्तिहरूको संलग्नता भएको भन्दै छानबिनको माग‍ उठेको बेला सो रिट दायर गरिएको हो । 

प्रतिक्रिया
सम्बन्धित समाचार