आइतवार, आश्विन १८ गते २०८३

१५ गते काठमाडौं एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस् : प्रधानमन्त्री ओली

आइतवार , जेठ १२, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन् ।

उनले आज नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै राजावादीहरुको आन्दोलन रोक्न जेजस्तो गर्नुपर्छ त्यस्तै तयारीमा लाग्न समेत निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘निर्देशन पछि आउँछ । तपाईंहरु जस्तो, जे गर्नुपर्छ, तयारी हालतमा बस्नुहोस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ । कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाले आयोजना गर्नुपर्छ, त्यसलाई छोडिदिनुहोस्, आन्दोलनमा प्रोटोकल, स्रोटोकलको कुरा हुँदैन ।’

राजावादीहरूले राजसंस्था पुर्नस्थापना गर्ने भन्दै जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । एमालेका सबै कार्यकर्ता परिचालित हुँदा कसैले रोक्न नसक्ने समेत ओलीको भनाइ छ । ‘म साथीहरुलाई भन्न चाहान्छु, निर्देशन पछि आउला, यहाँबाट उठ्ने बित्तिकै १५ गतेको तयारी थाल्नुहोस् । १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ । यति परिचालन भएर जनता ल्याउँदा कसले थाम्छ ? कसले रोक्छ ?’

राजावादीहरुको कडा आलोचना गर्दै उनले भने, ‘यिनीहरु हिजो बेलुका पनि नारायणहिटी अगाडि हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाउँदै रहेछन् । प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई मार्दा यिनीहरु कहाँ गएका थिए ?’ सधै झुटा कुरा बोल्ने र चाप्लुसी गर्ने राजावादीहरुको बानी रहेको समेत ओलीले आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सधै झुटा, चाप्लुसी गर्ने त्यो मण्डलेहरुको बानी हो, यिनीहरु कुनै महान उदेश्यका लागि लडेका छैनन् । सरकार अलि मौन बसेको र जनता अलि मौन बसेको अवस्था हो, । त्यो अवस्थाको फाइदा लिएर उनीहरुले अनावश्यक फुर्तिफार्ती देखाइरहेका छन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार