काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयले प्रतिनिधिसभाको आजको बैठक प्रभावित भएको छ ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध गरेका छन् । विपक्षी सांसदहरूले नारावाजी गर्दै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
त्यसअघि उनले माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनाललाई बोल्न समय दिएका थिए । दुवैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन समितीको माग गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन् ।
गृहमन्त्रीको राजीनामा नआउँदासम्म बैठक चल्न नसक्ने उनीहरूको भनाइ रहेको छ ।