काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि सुनिश्चित गरी निम्तो दिइएका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन् ।
आयोगले १५ दिन अघि नै साढे ११ बजे प्रधानमन्त्री ओली पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरेको थियो । तर, कार्यक्रम सुरु भएपछि प्रधानमन्त्री नआउने पनि जानकारी नगराइएको आयोगका एक कर्मचारीले बताएका छन् । कार्यक्रममा सरकारका मुख्य सचिव, सचिवहरूको उपस्थिति रहने गरी कार्यक्रम तय गरिएको थियो । सरकारका उच्च पदस्थ व्यक्ति कोही पनि उपस्थित भएका छैनन् । आयोगले वर्षेनी प्रधानमन्त्रीकै उपस्थितिमा वार्षिकोत्सव मनाउने गरेको थियो ।
आयोगले सोमबार मात्रै विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको भनाइमा टिप्पणी गरेको थियो । प्रधानमन्त्रीले जेठ १५ का लागि आफ्ना कार्यकर्तालाई गरेको आग्रह उत्तेजनापूर्ण भनेको थियो । कार्यक्रममा आयोगकी सदस्य लिली थापाले स्वागत भाषण गर्दै सरकार मानवअधिकार आयोगप्रति कति उदासीन छ भन्ने कुरा आजको कार्यक्रमले देखाउने बताएकी छिन् । आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसको फितलो कार्यान्वयन रहेको बताएका छन् ।
आयोगका सिफारिस कार्यान्वयनका लागि सरकारलाई आग्रहसमेत गरेका छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लिखित भाषण पनि तयार गरेका थिए । यता प्रधानमन्त्रीको सचिवालयले मानवअधिकार आयोगको कार्यक्रम बिहान चाँडै भएकोले जान नसकिएको जनाएको छ ।
प्रधानमन्त्री सचिवालय स्रोतले प्रधानमन्त्री राति अबेरसम्म व्यस्त रहेकाले बिहानको कार्यक्रममा सहभागी हुन नसकेको जनाएको छ ।