काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री ओलीसँग छलपलल गर्न सभापति देउवाका साथ गृहमन्त्री रमेश लेखक पनि छन् । भिजिट भिसा प्रकरणले सदन अवरोध भएको र विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागिएपछि पछिल्लो अवस्थाबारे छलफल गर्न सभापति देउवा बालुवाटार गएका हुन् ।
कांग्रेसकै शीर्ष नेताहरुले पनि भिजिट भिसा प्रकरणमा लेखकको राजीनामा मागेका छन् । शेखर कोइराला, सुनिल शर्मा, राजेन्द्र बजगाईंलगायतका नेताहरुले नै गृहमन्त्री लेखकको राजीनामा मागेपछि सभापति देउवापनि दबाबमा छन् । विपक्षीहरुले गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् । उनीहरुले बुधबारको सदनपनि अवरोध जारी राख्ने भनिसकेका छन् ।
गृहमन्त्री लेखकका निकस्थ उच्च अधिकारीहरू भिजिट भिसा प्रकरणमा अनुसन्धानमा तानिएपछि त्यसमा नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने र स्वतन्त्र छानबिनका लागि सघाउनुपर्ने माग विपक्षी दलहरूको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान विपक्षी दलले राखेपछि त्यसबारे छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् ।
सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर, गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षी दलको अडानका बीच बजेट भाषण प्रस्तुत कसरी हुन्छ ? भन्ने चासोको विषय बनेको छ ।