काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तीकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यी उपलब्धिहरू कांग्रेसको नेतृत्वमा प्राप्त भएको दाबी गरेका छन् ।
सभापति देउवाले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ, ।’ उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन चाहेको बताएका छन् ।
उनले भने, ‘संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशिल बनाउन हामी लाग्नेछौँ, ।’ आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको शुरुवात नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको देउवाले स्मरण गराएका छन् ।
सभापति देउवाले भने, ‘आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध छ, संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्रोत साधन सम्पन्न गराउन कांग्रेस सचेत छ ।’
सभापति देउवाले नेपाली कांग्रेस आदिवासी, जनजातिहरूको सशक्तीकरणका लागि सधैँ क्रियाशील रहेको जनकारी गराएका छन् ।