आइतवार, श्रावण २४ गते २०८३

राजा वीरेन्द्र शाहको वंश नाश गर्ने त्यो हत्यारा बाहिरको हो या भित्रको ?

सोमवार , जेठ २०, २०८२

काडमाडौँ । राजा वीरेन्द्र शाहको वंश नाश गर्ने त्यो हत्यारा को हो ? देश भित्रको हो या बाहिरको ? राजनीतिक दलमा आवद्ध हो की ? या त राजपरिवार भित्रकै हो ? आखिर को हो त त्यो हत्यारा ? राजा विरेन्द्रको वंश नास भएको २४ वर्ष पुरा भइसकेको छ । तर, राज्यले अनुसन्धान नै गर्दैन । 

वि.सं २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रसहित उनको वंश नाश हुनेगरी रक्तपात मच्चियो । उच्च सुरक्षा घेराभित्र भएको त्यो हत्याकाण्ड २४ वर्ष पुरा हुदासमेत रहस्यको गर्भमै छ ।

२०५८ जेठ १९ गते साँझ तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्तिसिंह र शारदा शाह, शाहजादी जयन्ती शाह, कुमार खड्गविक्रम शाह र पूर्व अधिराजकुमार धीरेन्द्र शाह गरी राजपरिवार र शाही नाताका दश जनाको एकै चिहान भयो । हत्याकाण्डको दिन ज्ञानेन्द्र पोखरामा थिए भने अन्य राजपरिवारका सदस्यहरू रात्रिभोज समारोहमा सहभागी भएका थिए । 

त्यस बेला ज्ञानेन्द्रकी पत्नी कोमल, छोरा पारस र छोरी प्रेरणा राजदरबारको कोठामा थिए । वीरेन्द्रको सम्पूर्ण परिवारहरू मारिँदा ज्ञानेन्द्रको परिवारका सबै सकुशल थिए । लगत्तै बनेको एक छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोंक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको भन्ने रिपोर्ट सार्वजनिक ग¥यो ।

उक्त रातको समयमा नारायणहिटी दरबारको त्रिभुवन सदनमा रात्रिभोज चलिरहेको थियो । उक्त पाटीमा तत्कालिन राजा विरेन्द्रको परिवार र उनका नजिका आफन्त सहभागि थिए । पाटीमा शाही परिवारका आफन्तबाहेक अरुलाई जान अनुमति थिएन । यसैबीच ८ः५० बजे त्रिभुवन सदनभित्र अरुसँग कुरा गरिरहेका राजा विरेन्द्र नजिक अकस्मात सैनिक कम्ब्याट पोशाकमा दुईतर्फ राइफल र १२ वोर बन्दुक बोकेका युवराज दीपेन्द्रको भेषका व्यक्तिको प्रवेश भयो । र, उनैले राजा विरेन्द्रलाई भटटट... फायर गरी त्यहाँबाट बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङ्ग नजिक १२ वोरको बन्दुक फ्याँकी पुनः भित्र विलियार्ड कोठामा प्रवेश गरी वत्ती र टेलिस्कोप सहितको राईफल सोझ्याउदै आएर सवैलाई गोली हानेको छानविन समितिको प्रतिवेदनमा भनिएको छ ।

तर, यस प्रतिवेदनले भनेको धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन् । प्रतिवेदनमै कैयन प्रश्न छन् । घटनाको दोषी दीपेन्द्रलाई देखाइएकोमा राजनीतिक दलका शिर्ष नेता नै त्यसलाई गलत दाबी गर्छन् । एकथरिले उक्त हत्याकाण्डमा तत्कालिन राजा ज्ञानेन्द्रको हात भएको दाबी गर्छन् भने अर्कोथरिले राजनीतिक दलका नेताहरुको हात भएको दाबी गर्छन् । 

राजनीतिक दलका केही शिर्ष नेताहरुले नै दरबारहत्या काण्ड तत्कालिन राजा ज्ञानेन्द्रको षडयन्त्रमा भएको अभिव्यक्ति दिन थालेपछि घटनाको २२ वर्षपछि शाहले यसबारे मुख खोलेका थिए । २०८० को माघमा वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे जनतामा भ्रम फैलाएर आफ्नो परिवारप्रति घातक प्रहारहरु भएको बताएका थिए ।

जसले जेसुकै दाबी गरेता पनि यसको निष्पक्ष छानबिनको पक्षमा न दरबार देखिन्छ । न सरकार नै । आखिर को हो त त्यो हत्यारा ? जसले राजा विरेन्द्रको वंश नास गरेर खुलेआम घुमिरहेको छ । विडम्बना यो छ की २४ वर्षसम्म पनि राजा विरेन्द्रसहित उनको परिवारको आत्माले न्याय पाउन सकेन । अहिले राजावादीहरु राजतन्त्र फर्काउने अभियानमा जुटिरहेका छन् । यदि राजा वीरेन्द्रको वंश नास नभएको भए नेपालमा राजतन्त्रको अन्त्य हुने थिएन ।

राजा वीरेन्द्रको छवि राम्रो थियो । २५० वर्षे लामो राजतन्त्र ढल्नुमा ज्ञानेन्द्रको मुर्खता मुख्य कारण थियो । खैर, २४ वर्ष सम्म पनि राजा वीरेन्द्रको वंश नास गर्ने हत्यारा पत्ता लाग्न सकेन । अर्थात राज्यले हत्यारा पत्ता लगाउन अनुसन्धानै गर्दैन । यसबारे न पूर्वराजा ज्ञानेन्द्र शाह बोल्छन् न राज्य । जसले गर्दा कयौँ शंका पैदा गरेको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार