काठमाडौं । सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन् ।
जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनि कारागार प्रशासनलाई लेखि पठाएको थियो । लामिछानेले काठमाडौंको डिल्लीबजार कारागारमा सरुवा माग गरेका छन् । त्यसै अनुसार रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ । तर कारागार व्यवस्थापन विभागबाट निर्णय भएर आउन बाँकी रहेको जिल्ला कारागार रुपन्देही स्रोतले जनाएको छ ।
स्रोतका अनुसार विभागबाट निर्णय भएर आए लगतै लामिछानेलाई सरुवा गरिने छ । सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उनी त्यसै दिन पक्राउ परेका थिए ।
तर उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चबाट रिहा हुने आशामा उनले यसअघि रुपन्देही कारागारमै बसेर मुद्दा लडिरहेका थिए । तर सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेपछि अब उनले काठमाडौं सरुवा हुन चाहेका हुन् । परिवार र पार्टीभित्रको भेटघाटलाई सहज बनाउन उनी काठमाडौंकै कारागार आउन चाहेको जनाएका छन् ।
काठमाडौं र ललितपुरमा तीन वटा कारागार रहेका छन् । त्यसमध्ये कम कैदीबन्दी रहेको डिल्लीबजारमा भीआईपी कैदीहरू बढि रहने गरेका छन् । लामिछानेले पनि सोही कारागारमा बस्न चाहेका छन् । अब उनले सुप्रिम सहकारी ठगीको अभियोगमा फैसला नभएसम्मका लागि थुनामा बस्नैपर्छ ।
कारागार बसाई लम्बिने भएपछि उनले सरुवा माग गरेका हुन् । रुपन्देही बाहेकका अदालतबाट भने उनी धरौटीमा रिहा भएका थिए ।