काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले दलका प्रमुखसचेतकसहितका नेताहरूसँग छलफल जारी राखेका छन् । विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै अहिले उनले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
संसद भवन नयाँ वानेश्वरमा छलफल चलिरहेको छ । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी भएका छन् । त्यस्तै कानुनमन्त्री अजयकुमार चौरासिया पनि छलफलमा सहभागी छन् ।
प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाउँदै पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन् । उनीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने माग राखेर लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
सदन चलाउने विषयमा सहमति नहुँदा मंगलबार बैठक नै नबसी आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर बैठक अझै सुरु भएको छैन ।