आइतवार, आश्विन १८ गते २०८३

तीनकुने घटना : दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस जारी

बुधवार , जेठ २२, २०८२

काठमाडौं । तीनकुने घटनाका प्रतिवादीहरूको थुनछेक बहस जारी रहेको छ । आज दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु भएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बहस चलिरहेको छ । अदालतमा गत जेठ ११ गते अभियोग पत्र दर्ता भएसँगै बकपत्र चलिरहेको थियो । बकपत्र सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि थुनछेक बहस सुरु भएको हो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा दुईजाको ज्यान गएको थियो भने आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

प्रहरीले सो हिंसात्मक घटनामा संलग्न रहेको भन्दै ६५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवलगायतका मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको छ । प्रसाईंसहित आठजनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ ।

उनीहरूमध्ये अभियोग पत्रकासाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक बहस सुरु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार