आइतवार, आश्विन १८ गते २०८३

निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौं : प्रवक्ता सापकोटा

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्ने बताएका छन् । आज बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।

प्रवक्ता सापकोटाले भने, ‘हाम्रो जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने छ, निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौं ।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । संसदको गतिरोध नहट्दा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

प्रवक्ता सापकोटाले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ भन्ने आफूहरुको मुख्य माग रहेको बताएका छन् । त्यसका लागि सरकारले कस्तो वातावरण बनाउँछ, त्यस अनुसार अघि बढ्ने बताएका छन् । यसबारे सरकारसँग र अन्य विपक्षी दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने सापकोटाले जानकारी दिएका छन् । उनले भने, ‘मुख्य कुरा छानबिन हो, व्यक्ति विशेषमा हाम्रो त्यति धेरै ध्यान छैन, निरन्तर कुरा भइराख्या छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने हिसाबले हिजोको स्थगित भएको छ । आज पनि मुख्य गरी सरकारसित र अर्कोतिर विपक्षी पार्टीहरुसित पनि कुराकानी गर्नुपर्ने छ ।’

भिजिट भिसा प्रकरण धेरै गम्भीर र महत्वपूर्ण विषय भएको बताउँदै उनले भने, ‘सकेसम्म छानबिनका लागि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि हुनुपर्छ भन्ने विषयमा आजको छलफलमा निष्कर्ष निक्लेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार