काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध मुद्दा चल्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन् ।
पञ्जली प्रकरणमा आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि बिहीबार रौतहटस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सुरुदेखि नै आफूविरुद्ध ओली लागेको बताएका छन् ।
सञ्चारकर्मीको प्रश्न थियो, त्यो त हो, त्यो त सिधा कुरा हो, तपाईंकै पार्टीका नेताले केपी ओलीको निर्देशनमा अख्तियारले मुद्दा दायर गरेको हो भन्नुभयो नि ? प्रश्नमा नेपालले भने, ‘उहाँ मेरोविरुद्धमा सुरुदेखि लाग्नु भएको पनि हो ।’ उनले आफ्नो राजनीतिक करियर समाप्त पार्न नै ओली लागि परेको दाबी समेत गरेका छन् ।
अध्यक्ष नेपालले भने, ‘मेरो राजनीतिक करियरलाई समाप्त पार्ने उहाँको नियतै हो, पहिले पनि उहाँले यस्तै किसिमको कोसिस पटक-पटक गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’