काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन्।
चीनका राष्ट्रपति सी चिनफिङसँग एक घण्टा फोनमा कुरा गरेपछि ट्रम्पले आफू श्रीमतीसहित चीनको भ्रमणमा जाने जानकारी गराएका हुन्। यद्यपि उनले भ्रमण मिति उल्लेख गरेका छैनन्।
ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसँगको भेटमा ट्रम्पले भने, ‘सी चिनफिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन निम्ता दिएँ। हामी दुवैले यो प्रस्ताव स्वीकार गरेका छौँ।’
ट्रम्पले आफू श्रीमतीसँग चीन भ्रमण गर्ने बताए। साथै सी पनि श्रीमतीसँग अमेरिका भ्रमणमा आउने अपेक्षा गरिएको छ। तर चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई भ्रमणको निम्तो दिएको कुरा मात्र उल्लेख छ, ट्रम्पले सीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरिएको विषय लेखिएको छैन।
चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा ट्रम्प र सीबीच फोनमा कुराकानी भएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेअनुसार उनीहरूबीच फोनमा डेढ घण्टासम्म चलेको थियो र यस अवधिमा धेरैजसो कुराकानी व्यापारबारेमा भयो।
ट्रम्पले लेखेका छन्, ‘परिणाम दुवै देशका लागि सकारात्मक थियो।’ चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार, वार्ताका क्रममा सी चिनफिङले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध चालेका नकारात्मक कदम फिर्ता लिन आग्रह गरेका थिए।
साथै सीले चीन सधैँ आफ्ना वाचा पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै दुवै पक्षले जेनेभामा हालै भएको सम्झौताको पालना गर्नुपर्ने बताएका थिए।