आइतवार, आश्विन १८ गते २०८३

माधव नेपालमाथि मुद्दा दर्ताबारे प्रचण्डले मनको कुरा खोल्दै यस्तो भने

शुक्रवार , जेठ २४, २०८२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि मुद्दा लगाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै आधारमा मात्रै नभएको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

संसद् भवनमा आफूनिकट पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मनको कुरा खोल्दै बाहिर प्रधानमन्त्री ओलीले गराएको भनेर चर्चा भए पनि भित्र त्यस्तो नहुनसक्ने बताए । उनले भने, ‘बाहिर हेर्दा केपी ओलीले गराएको जस्तो देखियो तर केपी ओलीले भनेको मान्ने मान्छे प्रेम राई होइनन् । भनेको नमान्ने मान्छे हुन्, भन्ने बित्तिकै गरिहाल्ने मान्छे होइनन्, आफ्नै ढंगले गर्‍या हो कि जस्तो पनि लाग्छ ।’

प्रधानमन्त्री ओलीले कुलमान घिसिङले मुद्दा चलाउन भने पनि अख्तियार प्रमुख प्रेम राईले नमानेको तर्क गरे । उनले भने, ‘कुलमानको मुद्दा अगाडि बढाउन भनिएको थियो, त्यो अख्तियार प्रमुखले मानेनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि थाहा नपाएको भन्नुभयो । यसरी हेर्दा केपी ओलीले मात्रै गराएको जस्तो देखिन्न ।’

संसद् भवनबाहिर पत्रकारसँग कुराकानीमा गर्दै प्रचण्डले सत्तापक्षकै दल कांग्रेस सभापति शेरबहादुर देउवाले माधव नेपालको मुद्दाबारे आफूलाई सोधेपछि छक्क परेको बताए । उनले भने, ‘देउवाजीले हिजो फोन गर्नुभएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो त्यस विषयमा उहाँ आफैंले मलाई सोध्नुभयो - के भएको हो ? अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि त आश्चर्यमा परें म । सत्ता पक्षमा भएको सबैभन्दा ठूलो पार्टीको नेताले प्रतिपक्षको नेतालाई माधवजीको मुद्दा के भएको कसरी दर्ता भएको हो भनेपछि मैले पो तपाईंलाई सोध्नुपर्ने त भनें । यसमा अलिअलि ठट्टाठट्टा पनि भयो । यो मुद्दा दर्ता गर्ने बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाजीसँग सल्लाह गरेर भएको रहेनछ भन्ने मलाई लाग्यो । देउवाजी झूट चाहिँ बोल्नुहुन्न ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार