काठमाडौं। २०७८ सालको साउन महिनाको अन्तिम सोमबार आज। हरेक सोमबार ब्रत बसेर भगवान शिवको पूजा गर्दै आएका ब्रतालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन्।
साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्ने गर्दछन्। साउनको हरेक सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लाग्ने गरे पनि गत वर्षजस्तै यसवर्ष पनि कोरोना महामारीका कारण मठ मन्दिर खुलेका छैनन्।
यद्यपी श्रद्धालुहरु बाहिरैबाट दर्शन गर्नका लागि पशुपतिलगायतका शिवालयमा पुग्ने गरेका छन्। साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन्।