काठमाडौँ । साउदी अरबका पवित्र सहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२५ को हज यात्राका क्रममा मृत्यु भएका इरानी हज यात्रीको कुल संख्या १३ पुगेको छ । हालैका दिनहरूमा साउदी अरबका पवित्र सहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियस र सोभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ,’ इर्नाले भनेको छ ।
इर्नाका अनुसार यो वर्ष ८६ हजार ७ सय इरानी तीर्थयात्राका लागि साउदी अरब गएका छन् । गत वर्ष साउदी अरबको हज यात्रामा ५१.८ डिग्री सेल्सियस १२५ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको थियो भने यात्राका क्रममा २२ इरानीसहित १ हजार ३ सयभन्दा बढीको मृत्यु भएको थियो ।