काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै आधा घन्टाका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेका हुन् ।
विपक्षीले उठेर टेबुल ठोक्दै विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाएका हुन् । आज दिउँसो २ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको थियो । ढिला सुरु भएको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन् ।
बैठकमा सभामुख घिमिरेले सदन सञ्चालनको वातावरण बनाउन अनुरोध गर्दै दलीय आधारमा बोल्न दिने बताएपछि विपक्षीले टेबुल ठोक्दै होहल्ला गरेका थिए । विपक्षीहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गरे पनि सत्तापक्ष भने यसमा तयार भएको छैन ।
जेठ १३ गतेदेखि यता लगातार सदन अवरुद्ध छ । विपक्षीले जेठ १५ गते बजेट ल्याउन भने सदन सञ्चालनमा अवरोध गरेका थिएनन् ।