आइतवार, आश्विन १८ गते २०८३

प्रधानन्यायाधीश राउत न्यायाधीश नियुक्तिको प्रयासमा जुटे

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रयासमा जुटेका छन् ।

लामो समयदेखि साँझ वा बिहान पारेर न्याय परिषद्को बैठक राखिरहेका उनी आज भने मुद्दा नै नहेरी गृहकार्यमा जुटेका हुन् । उनीसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि आज इजलासमा छैनन् । उनीहरू दुवै जनाले बिहान इजलासमा बस्नका लागि गोला पनि नतानी न्याय परिषद्को छलफलमा जुटेका हुन् ।

न्याय परिषद् स्रोतका अनुसार, अहिले बैठक अनौपचारिक रूपमा बसिरहेको र कुरा मिलेपछि त्यसलाई औपचारिकता दिने तयारी छ । सर्वोच्च अदालतमा हाल ४ न्यायाधीश पद रिक्त रहेका छन् । सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषद्ले सिफारिस गर्ने र संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि मुख्य न्यायाधीशहरू शान्तिसिंह थापा, श्रीकान्त पौडेललगायतको नाम छलफलमा छ ।

कानुन व्यवसायीहरूबाट २०९२ सालपछि प्रधानन्यायाधीश बन्ने गरी न्यायाधीश नियुक्त गर्ने प्रयासमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेस लागेका छन् । तर, निकै कनिष्ठ व्यक्तिलाई प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि दिएर भावी प्रधानन्यायाधीशको रोलक्रममा राख्न खोजेको भन्दै न्यायपालिकाभित्रै असन्तुष्टि पनि बढेको छ ।

कानुनमन्त्री अजयकुमार चौरसियाले पनि आफूनिकट व्यक्तिको नाम अघि सारेका छन् । ५२ संवैधानिक पदाधिकारी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले भोलि फैसला गर्ने भनी दिन नै तोकिसकेको छ । न्याय परिषद्का एक सदस्य रामप्रसाद भण्डारी पनि उक्त मुद्दामा विपक्षी छन् ।

सर्वोच्चको फैसला उनको प्रतिकूल नआए पनि भण्डारीको कार्यकाल असार दोस्रो साता सकिँदै छ । त्यसपछि न्यायाधीश नियुक्ति प्रक्रिया थप लम्बिन सक्ने भएकाले पनि प्रधानन्यायाधीश राउत अहिले लागि परेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार