काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आफू नेकपा (एमाले)को झोले भएको बताएका छन् । बुधबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा पत्रकारहरूको प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले भने, ‘म पनि एमालेको झोले हुँ ।’
गुरुङले भने, ‘एमालेको झोला बोक्ने कुराले सबैले गर्व महसुस गर्नुपर्छ । म पनि एमालेको राष्ट्रियताको झोला बोक्ने मान्छे हुँ । त्यसैले म पनि झोले हो एमालेको । हामीले यसलाई सकारात्मक अर्थमा हेर्नुपर्छ, केपी ओलीको झोले भन्यो भने अनर्थ हुन्छ, एमालेभित्रको पनि कतिले भनेका होलान्, शब्द चयन राम्रो भएन भनेर । तर, त्यसको अर्थ एमाले हुनुमा गर्व गर भनेका हौँ ।’
गुरुङ एमालेका उपमहासचिव हुन् । यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले चलाएको ‘झोले अभियान’मा गुरुङसहितका अन्य बहुमत पदाधिकारीहरूले साथ दिएका छन् ।
यस्तै एमालेकै कतिपय नेताहरूले भने आफू झोले नभएको बताएका छन् । यही सन्दर्भको प्रश्नमा उनले आफू एमालेको झोले भएको बताएका हुन् ।