आइतवार, आश्विन १८ गते २०८३

काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार , जेठ २९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

उनीसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् । उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।

तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो । सो उजुरीउपर अनुसन्धान अघि बढाएको अख्तियारले बुधबार परियारसहित ७ जनालाई मुद्दा दायर गरेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार