काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्ष दलका नेताहरूबीच आज पनि छलफल जारी रहेको छ ।
आजको प्रतिनिधिसभाको बैठकअघि सहमति जुटाउने भन्दै दलका नेताहरूबीच छलफल जारी रहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् । उनले भने, ‘आज पनि छलफल जारी नै छ । कांग्रेस–रास्वपा, एमाले–राप्रपा र हामीबीच संयुक्त छलफल भइरहेको छ, कुरा खास मिलिसकेको छैन । सहमतिको विन्दु खोज्ने प्रयासमै छौँ ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने विपक्षीको अडानका बीच तीनहप्तायता प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको छैन । जेठ १३ गतेदेखि यता प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । विपक्षीले जेठ १५ गते भने बजेट ल्याउन दिएका थिए ।
दलहरूले हरेक दिनजसो सहमतिका लागि छलफल गरे पनि निष्कर्ष निस्किन सकेको छैन । सभामुख देवराज घिमिरेले पनि दलका नेताहरूसँग पटकपटक छलफल गरिरहेका छन् । तर दलहरूबीच सहमति जुट्न सकेको छैन् ।