काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेको सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको जिकिर छन्।
भिजिट भिसा प्रकरणका आरोपित गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान राखे जेठ १३ देखि निरन्तर संसद् बैठक अवरुद्ध पारिरहेको माओवादी केन्द्रले (शुक्रबार जेठ ३०) यो कुरा छाड्दै सदन खुलाउन कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेको छ।
सोही सन्दर्भमा आज शनिबार बिहान विराटनगर विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्रकारले प्रश्न गरे। जवाफमा उनले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि (सापकोटा) को कुनै साइनो सम्बन्ध छैन।’
माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। आफ्ना उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दासँग माओवादी केन्द्रले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान साटेको आरोप लागिरहेका बेला अध्यक्ष प्रचण्डले खण्डन गरेका हुन्।